भदौ १० गते आएको बाढीले केही स्वास्थ्य संस्था र विद्यालयका संरचना ध्वस्त बनाएको छ। विपद्बाट केही शिक्षक, विद्यार्थी, स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन्। जसका कारण केही विद्यालयको पठनपाठन पूर्ण रूपमा ठप्प छ भने स्थानीयस्तरमा उपचार सेवा प्रभावित भएको छ।
बाढीका कारण १२ जना स्वास्थ्यकर्मी सम्पर्कविहीन भएका छन् । रसुवाका स्वास्थ्य संस्थामा कार्यरत ११ जना र नुवाकोटमा कार्यरत एक जना स्वास्थ्यकर्मी सम्पर्कविहीन छन् । सम्पर्कविहीन हुनेमा रसुवाको स्याफ्रुबेसी स्वास्थ्य चौकीमा कार्यरत खम्बु बोहरा, टिमुरे स्वास्थ्य चौकीकी सरिता मल्ल, सुस्मिता पाण्डे, हिस्सी घले, डाडालफेदी सामुदायिक स्वास्थ्य इकाईका विजय घले, रसुवागढी हेल्प डेस्कका गोविन्द यादव, ललित देव कुमार, उत्तरगया गाउँपालिका स्वास्थ्य शाखाका बलराम न्यौपाने, प्रदीप न्यौपाने, ललितादेवी कुमारी र मैलुङ सामुदायिक स्वास्थ्य इकाईका दिनिशा शाही छन् ।
यस्तै, नुवाकोटको त्रिशुली अस्पतालमा कार्यरत स्कुल हेल्थ नर्स ममता श्रेष्ठ, मैलुङ सामुदायिक स्वास्थ्य इकाईकी दिनिशा शाही तथा त्रिशुली अस्पतालमा कार्यरत स्टाफ नर्स प्रेरणा तामाङ पनि सम्पर्कविहीन छन् । भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङका स्वास्थ्य संस्था, पूर्वाधार, स्टोर तथा स्वास्थ्यकर्मीहरूमा व्यापक क्षति पुगेको छ । स्वास्थ्य संस्थाको भौतिक संरचनातर्फ रसुवा र धादिङका विभिन्न स्वास्थ्य केन्द्रहरूमा पूर्ण तथा आंशिक क्षति पुगेको छ ।
रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित स्याफ्रुबेसी स्वास्थ्य चौकी, गोसाइँकुण्ड–२ स्थित टिमुरे स्वास्थ्य चौकी, गोसाइँकुण्ड–२ स्थित रसुवागढी हेल्प डेस्क र उत्तरगया गाउँपालिका–१ स्थित मैलुङ सामुदायिक स्वास्थ्य इकाई पूर्ण रूपमा क्षतिग्रस्त भई सेवा ठप्प भएको छ ।
यस्तै, धादिङको बेनिघाटस्थित चरौंदी आधारभूत स्वास्थ्य सेवा केन्द्र र गल्छीस्थित बैरेनी अस्पतालको तल्लो तला बाढीको पानीमा डुबेर आंशिक रूपमा क्षति पुगेको छ । रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित गोसाइँकुण्ड स्वास्थ्य शाखा र स्टोर तथा उत्तरगया गाउँपालिका–५ स्थित उत्तरगया स्वास्थ्य शाखा र स्टोर पूर्ण रूपमा क्षति भएका छन् । जसले गर्दा औषधि तथा स्वास्थ्य सामग्री भण्डारण र व्यवस्थापनमा सकस भएको छ ।
बाढीका कारण सडक तथा पुलहरू बगेपछि अस्पतालहरूसम्म पुग्ने पहुँच मार्ग अवरुद्ध भएका छन् । रसुवा र नुवाकोटमा पुल बगाएका कारण आवतजावत ठप्प भई त्रिशुली अस्पताल र धादिङ अस्पतालमा बिरामीहरूको पहुँच कठिन भएको छ ।
विपद्का कारण २३ वटा विद्यालयमा क्षति पुगेको छ । प्रारम्भिक सूचना अनुसार रसुवाका सात, नुवाकोट र धादिङका ८/८ वटा विद्यालयमा क्षति पुगेको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
रसुवाको नीलकण्ठ मावि, कोमिन श्यामेवाङ् फेल मावि, नवविजयी महेन्द्र मावि, नेपाल राष्ट्रिय आधारभूत विद्यालय, मालिकादेवी आधारभूत विद्यालय, चिप्लेटी आधारभूत विद्यालय, मोर्डन ट्रिनिटी इङ्लिस बोर्डिङ स्कूलमा क्षति पुगेको छ ।
यस्तै, नुवाकोटको ज्ञानकुञ्ज बोर्डिङ स्कूल, चण्डेश्वरी माध्यमिक विद्यालय, पायोनिअर बोर्डिङ स्कूल, जेडी बोर्डिङ स्कूल, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, रामचन्द्र आधारभूत विद्यालय, त्रिशूली सामुदायिक बोर्डिङ स्कूल र उत्तरगया पब्लिक इङ्लिस स्कूलमा क्षति पुगेको छ ।
बाढीले धादिङको बागेश्वरी मावि, सक्सेस एकेडेमी, जलेश्वरी मावि, अम्लेश्वर गुरुकुल संस्कृत वेदविद्याश्रममा क्षति पुर्याएको छ । विद्यालयमा पूर्ण, आंशिक र सामान्य क्षति गरी तीन प्रकारको क्षति पुगेको मन्त्रालयमा प्राप्त प्रारम्भिक विवरणमा उल्लेख छ ।
शिक्षा मन्त्रालयका सूचना अधिकारी वीरबहादुर धामीले यो प्रारम्भिक रिपोर्ट अझै रुजु हुन बाँकी रहेको बताए । उनले भने, ‘निजी तथा सामुदायिक २३ विद्यालयमा क्षति भएको छ । २३ विद्यालयमा ६ हजार नौ सय जना विद्यार्थी अध्ययनरत थिए ।’
शिक्षा मन्त्रालयका अनुसार २४० जना विद्यार्थी र शिक्षक सम्पर्कविहीन छन् । जसअन्तर्गत् २३० जना विद्यार्थी र १० जना शिक्षक सम्पर्कविहीन छन् । धामीले शिक्षा विभागबाट प्राविधिक सहितको टोली प्रभावित क्षेत्रमा जान लागेको बताए ।
उनले भने, ‘शिक्षा विभागका निर्देशकको नेतृत्वमा एक टोली प्रभावित क्षेत्रमा जान लागेको छ । यो टोलीले केही तथ्याङ्क ल्याउँला । त्यसपछि कति आर्थिक क्षति भयो भन्ने विवरण भन्न सकिन्छ ।’
विद्यालयका भवनसहित छात्रावास, फर्निचरका सामग्री, ल्याव लगायतमा क्षति पुगेको छ । प्रभावित विद्यार्थीहरू मानसिक पीडामा छन् । धामीले भने, ‘प्रभावितहरू घर, परिवार, आफन्त गुमेको पीडामा हुनुहुन्छ । यो समय उद्धार र खोजको समय हो । यस्तो बेला मनोसामाजिक परामर्श दिन जरुरी छ । त्यसपछि हामी सिकाइको चरणमा प्रवेश गर्छौं ।’
विद्यालय मात्र नभइ बस्ती, सडक, घरपरिवार सबै गुमेको स्थितिमा जीवन रक्षा महत्त्वपूर्ण पक्ष रहेको उनले बताए । बालबालिकाको सिकाइलाई अस्थायी सिकाइ केन्द्र स्थापना गरेर सुरु गर्नेबारे छलफल भइरहेको उनको भनाइ छ ।
राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्दले १७ हजार बालबालिका बाढीबाट प्रभावित भएको हुन सक्ने बताए । उनले भने, ‘अझै एकीकृत तथ्याङ्क आउन सकेको छैन । मोटामोटी १७ हजार बालबालिका प्रभावित भएको अनुमान छ । भदौ १९ गतेसम्म एकीकृत तथ्याङ्क ल्याउने गरी काम गरिरहेका छौँ ।’
उनले प्रभावित स्थानीय तहहरूसँग अस्थायी संरक्षण आवश्यक भएका बालबालिकाको विवरण माग गरेको बताए । उनले भने, ‘नाता सम्बन्ध गुमेका, विद्यालय क्षति भएकाहरू प्रभावितभित्र पर्छन् । संकट ग्रस्त घोषणा भएका १५ वटा स्थानीय तहसँग विवरण माग गरेका छौँ ।’
सरकारले रसुवाको भोटेकोशी बाढीका कारण अति प्रभावित ५ जिल्लाका १५ स्थानीय तहलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो । रसुवाका ४, नुवाकोटका ४, धादिङका ४, तनहुँका २ र गोरखाका १ गरी १५ स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गर्ने निर्णय सरकारले गरेको हो।
















