काठमाडौं, ४ साउन ।लगातारको वर्षासँगै पृथ्वी राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण मुग्लिन–काठमाडौं सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। धादिङ र चितवनका विभिन्न क्षेत्रमा पहिरो जाँदा सयौँ सवारी साधन अलपत्र परेका छन्।
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० स्थित जवाङ खोला नजिक दुई स्थानमा पहिरो खसेको छ। यस्तै, चितवनको इच्छाकामना गाउँपालिका–३ फिसलिङमा पनि पहिरो खसेको छ।
सवारी साधन होल्ड
पहिरो पन्छाउने काम जारी रहे पनि ठूलो परिमाणमा माटो र ढुंगा खसेकाले सडक सुचारु हुन अझै केही घण्टा लाग्ने प्रहरीको अनुमान छ। जाम नबढोस् भन्ने उद्देश्यले प्रहरीले काठमाडौं–धादिङको सिमाना नागढुंगा, सिम्ले र चितवनको कुरिनटार क्षेत्रमा सवारी साधनहरूलाई रोकेर (होल्ड गरेर) राखेको छ।
धादिङका डीएसपी प्रकाश दाहालले सडक सुचारु नहुँदासम्म धैर्य गर्न र सुरक्षित स्थानमा बस्न चालक तथा यात्रुहरूलाई आग्रह गर्नुभएको छ। यसअघि रात्रिकालीन यात्रामा जोखिम हुने भन्दै गएराति १० बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएकामा पहिरोले गर्दा उक्त समयपछि पनि आवागमन ठप्प भएको हो।
अन्य सडकको अवस्था
उता, नारायणगढ–मुग्लिन–पोखरा सडक खण्ड भने हाल सञ्चालनमा रहेको चितवन प्रहरीले जनाएको छ। त्यस्तै, काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ थलीस्थित बीपी राजमार्गमा सडकमा आएको लेदो माटो हटाइसकिएको छ र उक्त सडक खण्ड अहिले सुचारु भइसकेको छ।
वर्षायाममा पहिरोको उच्च जोखिम रहने भएकाले राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन र यात्रा तय गर्नुअघि सडकको अवस्थाबारे जानकारी लिन प्रहरीले अनुरोध गरेको छ।

















